• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राजमार्गमा विस्फोट हुँदा चार जना घाइते


  • धनकुटा खबर
  • .

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा विस्फोट हुँदा चार जना घाइते भएका छन्।

बुधबार साँझ सडक मर्मतसम्भार हुँदै गर्दा विस्फोट हुँदा एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दका अनुसार एक्स्काभेटरबाट सडक फराकिलो बनाउने काम भइरहँदा अचानक विस्फोट भएको हो। घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

चारैजनाको अनुहार र आँखामा चोट लागेको छ। उनीहरु बोल्नसक्ने अवस्थामा रहेका डिएसपी चन्दले बताए। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटबारे अनुसन्धान गर्न अत्तरियाबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

सडक स्तरोन्नति हुँदै गर्दा विस्फोट भएको हो। विस्फोटक पदार्थ प्रयोग गरी बनाउनुपर्ने सडक होइन। के विस्फोट भएको हो भन्नेबारे अनुसन्धान हुँदैछ। दिउँसोसम्म थाहा होला,’ डिएसपी चन्दले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖