• Saturday 17th of October 2026

राष्ट्रिपतिद्वारा पञ्चकोटमा ‘मुक्तिनाथ महाघण्ट’ उद्घाटन


  • धनकुटा खबर
  • .

ढोरपाटन (बागलुङ)। राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले करिब दुई करोड लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन्।

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा बागलुङ नगरपालिका-५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो। पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ। फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका हुन्।

करिब आधाघण्टा पञ्चकोटमा रहेका पौडेलले बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरेका थिए। दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो। महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए। जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनले जानकारी दिएका हुन्।

महाघण्टलाई दुई साता अगाडि पञ्चकोटमा ल्याइए पनि आजमात्रै विधिपूर्वक स्थापना गरिएको उनी बताउँछन्। विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो।

पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौं धार्मिक संरचना बनिसकेका छन्। विभिन्न दाताको सहयोग, महायज्ञबाट संकलन भएको रकम र सरकारबाट भएको करोडौंको लगानीले अहिले पञ्चकोट देशव्यापीरूपमा चर्चित बनेको छ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ। महाघण्टबाट निस्किएको ध्वनि साविक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ।

समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअघि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए। पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ।

हिजोदेखि सुरु भएको यस महायज्ञमा देशका विभिन्न जिल्ला तथा भारतबाटसमेत साधुसन्त र भक्तजनहरु आइरहेका छन्। स्वार्मी कमलनयनाचार्यको संकल्पमा नेपालमै पहिलो पटक हुन लागेको यस ब्रह्माण्डीय महायज्ञ यही २३ फागुनसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖