काठमाडौं, फागुन १२। काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काँडाघारीबाट सकुशल उद्वार गरिएको हो ।
प्रहरीले शुक्रबार रातिनै शिशु चोर्ने महिला दैलेखकी मनीषा भनिने मनकुमारी सिंहलाई पनि पक्राउ गरेको छ । उनले शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु लिएर फरार भएकी थिइन् । प्रहरीस्रोतका अनुसार सीसिटिभी फुजेट पछ्याउँदै महिलाको डेरासम्म पुगेका प्रहरीलाई महिलाले सुरुमा बच्चा आफ्नै रहेको ढिपी गरेकी थिइन् । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि अस्पतालबाट शिशु चोर्ने आयोजना बनाएकी उनी कोठामा सुत्केर जस्तै बनेर बसेकी थिइन् ।
शिशु चोर्ने महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ । महिला सहितका उनका श्रीमान र बहिनीलाई पनि पक्राउ गरेको जनाएको छ । शिशु चोरीमा संलग्न तीनै जनालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रहरीले जनाएको छ । चोरीमा श्रीमानको भूमिका भने नदेखिएको प्रहरी स्रोतको भनाई छ ।
शिशु चोरी भएको भन्दै काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपनमा बस्दै आएकी सविना श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएपछि घटना बाहिर आएको हो। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ।
