प्रसूति गृहबाट नावालिका चोरि गर्ने महिला प्रहरी बृत्त सिंहदरवारमा
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार २६ दिनको नवजात शिशु चोरी गरेर पक्राउ परेकी महिलालाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठकी नावालिका (छोरी) चोरी गर्ने दैलेक नौमुले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काडाँघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
शुक्रबार राति ११.३९ बजे काठमाडौँको काँडाघारीबाट पक्राउ परेकी निज सिंहलाई आज पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार पश्चात निजलाई सिंहदरबार बृत्तमा राखिएको एक जना प्रहरी अधिकृतले सुनौलो नेपाललाई जानकारी दिए । अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाईएको प्रहरीको भनाई छ ।
