कपिलेश्वर, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता एवं नुवाकोटको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित जनप्रतिनिधि हितबहादुर तामाङले आफूमाथि प्रश्न तेर्स्याएका एक समर्थकलाई सामाजिक सञ्जाल फेसबुकमा ब्लक गरिदिएका छन् । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हरि पाण्डेले सांसद तामाङको स्टाटसमा प्रतिक्रिया जनाउँदा अब उपरान्त फेसबुक वालनै हेर्न नमिल्ने र प्रतिक्रिया जनाउन नमिल्ने गरी ब्लक गरेका हुन्।
नुवाकोटबाट दुईपटकका निर्वाचित सांसद तामाङले फेसबुक स्टाटसमार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी सुपुत्री रेणु दाहालको गुणगान हुने गरी भरतपुर महानगरलाई नगरपालिका भन्दै कार्यसम्पादन मूल्याङ्कनमा ५६.२ अङ्क प्राप्त गरेको लेखेका थिए। उनको स्टाटसको उद्देश्य भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएकोले बधाई दिनु थियो । सो पोस्ट उपर प्रतिक्रिया जनाउँदै नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता जो गत निर्वाचनमा तामाङकै सिफारिसमा निर्वाचन प्रतिनिधि समेत बसेका थिए हरि पाण्डेले लेखेका थिए “तपाईंको क्षेत्रको पालिका कति नम्बरमा पर्यो कमरेड ?” उक्त प्रतिक्रिया लेखेको केही समयमा तामाङले उनको कमेन्ट हटाउँदै फेसबुकबाटै ब्लक गरिदिएको पाइएको छ।
आफ्नो कमेन्ट हटाएर ब्लक गरेको भेटिएपछि पेशाले पर्यटन व्यवसायी समेत रहेका पाण्डेले सांसद तामाङलाई ‘श्री ५ जातिवादी नेता’ भन्दै व्यङ्ग्य गरेका छन्। उनको स्टाटस छ ‘यति सानो कुरा पनि स्वीकार्न नसक्ने कसरी कम्युनिस्ट पार्टीको नेता हुन सक्ला अनि हामी कार्यकर्ता कसरी बन्ने?’ पार्टीमा बृहत समीक्षाको आवश्यकता रहेको र लापरवाही नेतालाई बहादुर भनेर सधैं मान्न नसकिने पाण्डेले लेखेका छन्। उक्त स्टाटसमा कमेन्ट लेख्ने हाल जापानमा बस्दै आएका अर्का अमरसिंह लामिछानेलाई पनि फेसबुकबाट उनले ब्लक गरेका छन्। आफ्नो कमेन्ट हटाएपछि लामिछानेले भनेका छन्, गुइठे माननीयले मलाई पनि उडाइदिए।
लामिछाने भन्छन्, उनलाई पूजा नगर्ने र जयजयकार नगर्ने जति सबै टार्गेटमा परिरहन्छन्। दुईपटक सांसद जितेर पनि आफ्नै कार्यकर्ता र सर्वसाधारण जनताको कदर गर्न नसकेको भन्दै माओवादी नेता हितबहादुर तामाङ पछिल्लो समय सर्वसाधारण र कार्यकर्ताको आलोचनामा पर्न थालेका छन्।
