काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्या चर्चित गायक आतिफ असलमले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिएका छन् । होटल हायात रिजेन्सीको मैदानमा आयोजित कार्यक्रममा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका हुन् ।
एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याएको हो । केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हो । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रङ्गशालामा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए ।
आयोजक अर्जुन बस्नेतका अनुसार आज पनि हायातमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रम जारी रहनेछ। शनिबार अनुभव जैनसहित द एज ब्यान्ड लगायतको प्रस्तुति रहनेछ । बस्नेतले हरेक नयाँ वर्षमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रमको आयोजना गर्ने तयारी रहेको पनि जानकारी दिए ।
