• Thursday 8th of October 2026

५१ औँ दिनमा ‘महाजात्रा’


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिल्म ‘महाजात्रा’ले प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगन्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको हो ।

गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मले ५१ औँ दिनको यात्रा तय गरेको खुसीमा निर्माण युनिटले शनिबार एक कार्यक्रम समेत गरेको छ । जसमा फिल्ममा अभिनेता हरिवंश आचार्यले अहिलेको समय फिल्मले ५१ औं दिन पार गर्नु भनेको फिल्म उद्योगका लागि सुखद खबर रहेको बताए । उनले अहिले नेपाली फिल्मलाई दर्शकहरूबाट प्राप्त मायाका लागि आभार व्यक्त गरे ।

कार्यक्रममा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए ।

फिल्मका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायाङ्कनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन् सकेनन् ।

यसका साथै फिल्मले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक÷एक थान मोबाइल प्राप्त गरेका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖