• Thursday 8th of October 2026

बंगलादेशमा अन्तरिम सरकारको कसरत, युनुसलाई प्रधानमन्त्री बनाउन प्रस्ताव


  • धनकुटा खबर
  • .

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन्। गएराति विभिन्न देशका नेताहरुसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिवद्धता गरेका छन्।

राजनीतिक नेताहरूसँगको छलफलपछि विभेदविरोधी आन्दोलनका पीडितको सम्झनामा शोक प्रस्ताव पारित गरिएको छ। सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिवद्धता छ।

विभिन्न झुटा मुद्दा र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको क्रममा हिरासतमा रहेकासहित सबै बन्दीहरूलाई रिहा गरिने उनको प्रतिवद्धता छ।

विभेदविरोधी विद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने उनको भनाइ थियो। यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ।

राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताएका छन्। यता विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको खाका बताएका छन्।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले एक भिडियो सन्देश जारी गर्दै उक्त जानकारी दिएका हुन्। यसअघि सोमबार राति नाहिदले आगामी २४ घण्टाभित्र अन्तरिम सरकारको खाका तयार पार्ने घोषणा गरेका थिए।

तथापि, रातभर व्यापक हिंसा जारी रहेपछि संयोजकहरूले मध्यरातमा समेत यथाशीघ्र आफ्नो अडान घोषणा गर्ने निर्णय गरे।

सेनालाई तोडफोड रोक्न र कानून कार्यान्वयन सुनिश्चित गर्ने जिम्मा दिइएको छ। प्रधानमन्त्री शेख हसिनाले सोमबार दिउँसो देश छोडेपछि बंगलादेशको अवस्था गम्भीर रूपमा बिग्रिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖