• Tuesday 6th of October 2026

‘ह्रस्व दीर्घ’मा खेलेका दक्षिण भारतीय अभिनेता रावत भोलि नेपाल आउँदै


  • धनकुटा खबर
  • .

हलमा प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’मा समेत अभिनय गरेका दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत भोलि (आइतबार) नेपाल आउने भएका छन्। ‘गजनी भिलेन’ भनेर चिनिने अभिनेता रावत आइतबार दिउँसो ३ः५० बजे नेपाल एयरलाइन्समार्फत नेपाल आउन लागेका हुन्।

चलचित्रका निर्देशक चन्द्र पन्तले दिएको जानकारी अनुसार, रावत उनकी श्रीमतीसहित काठमाडौँ आउन लागेका हुन्।

उनी नेपाल आएर नेपाली दर्शकसँग विभिन्न हलमा पुगेर साक्षात्कार गर्ने कार्यक्रम तय भएको पन्तले नेपालखबरसँग भने।

रावतले चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री नीता ढुंगानाको बुवा बनेर भूमिका निभाएका छन्। हिजो (शुक्रबार) बाट प्रदर्शनमा आएको यस चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ।

यस चलचित्रमा दक्षिण भारतीय चर्चित कमेडि अभिनेता ब्रह्मानन्दमको पनि अभिनय छ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। ६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।

यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖