नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले यही असोज ३ गते नयाँ पासपोर्ट (राहदानी) लिएको पाइएको छ। सरकारी स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा समेत प्रष्टै देखिएको छ।
गत भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको थियो। त्यसपछि देउवा दम्पतीले नयाँ राहदानी निकालेको पुष्टि भएको हो।
स्रोतका अनुसार देउवा र आरजु निकट भविष्यमै उपचार वा अन्य कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क बनाएको छ। यता, सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र राहदानी विभागबीच उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल भइरहेको जानकारी आएको छ।
अहिले देउवा दम्पती विदेश प्रस्थान गर्ने कि भनी राजनीतिक वृत्तमा चासो बढेको छ।
