काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टी नेतृत्वलाई पत्रमार्फत आफ्नो राजीनामा बुझाएको पार्टी स्रोतले जनाएको छ।
अधिकारीले पदप्रति आशक्ति नरहेको स्पष्ट गर्दै रास्वपामा लाग्दा समृद्धि र विकासका लागि योगदान गर्न सकिने विश्वास रहेको तर अहिले त्यस्तो सम्भावना नदेखिएको कारण राजीनामा दिएको बताएका छन्। पार्टीलाई कुनै आरोप नराखी शान्तिपूर्वक बाहिरिने उनको निर्णयलाई केही नेताले ‘सकारात्मक विदा’ भनेका छन्।
यसअघि जेन–जी आन्दोलनपछि रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले समेत राजीनामा दिएका थिए। पछिल्लो तीन नेतृत्वस्तरीय राजीनामाले रास्वपाको आन्तरिक संरचना र भविष्यप्रति प्रश्न खडा भएको देखिन्छ।
हालै सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकमा पार्टी छाडेर जानेहरूलाई संवादमार्फत फर्काउने पहल गर्नुपर्ने आवाज उठे पनि ठोस सहमति बन्न सकेको छैन। यसबीचमा अधिकारीको राजीनामाले रास्वपामा थप असन्तुष्टि र नेतृवमा चुनौती बढाउने देखिएको छ।
