नेकपा माओवादी केन्द्रले पार्टीका सबै तहका संरचनामा जेनजी पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो निर्देशन दिएका हुन्।
प्रचण्डले केही दिनअघि जेनजी युवासँग भेटमा उनीहरूले राखेको २५ प्रतिशत प्रतिनिधित्वको मागलाई सम्बोधन गर्दै पार्टी संरचनामा अधिकतम सहभागिता सुनिश्चित गर्ने बताए। उनले भने, “अब केन्द्रीय समिति, वडा समिति, पालिका समिति वा प्रदेश समिति जसै बनाए पनि युवाहरुलाई प्राथमिकता दिन्छौं, सहभागिता अनिवार्य हुनेछ।”
केन्द्रीय समितिको बैठकले निर्णय नं. ४ मा स्पष्ट उल्लेख गर्दै भनेको छ, “जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गराउने र युवाहरुलाई प्राथमिकता दिने।” प्रचण्डले नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा सक्रिय, सक्षम र गतिशील जेनजीलाई अगाडि ल्याउन निर्देशनसमेत दिएका छन्।
यससँगै माओवादी केन्द्रले आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। बैठकले प्रचण्डको प्रस्ताव परिमार्जनसहित पारित गर्दै विभिन्न ६ वटा निर्णयसमेत गरेको छ।
