काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गरेको पार्टी रूपान्तरण सम्बन्धी महत्त्वपूर्ण विषयहरू समावेश गर्ने निर्णय गरेको छ ।
बैठकले जनयुद्ध, जनआन्दोलन, जेनजी आन्दोलन लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेको छ भने जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धीकरण र पुनर्निर्माण गर्ने निर्णय गरिएको छ ।
पार्टीको केन्द्रीय समिति भङ्ग गरिएको छ । आगामी मङ्सिर मसान्तभित्र प्रचण्डकाे संयोजकत्वमा पार्टीको विशेष महाधिवेशन गर्ने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने निर्णय गरिएको छ ।
विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबिच एकता गर्ने । एकताको प्रक्रिया तत्काल अगाडि बढाइ विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गरिनेछ । तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन हुनेछ ।
अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा उभिँदै निर्वाचन सफल पार्न पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउने छ ।
आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीका पक्षमा उभिने र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने निर्णय गरिएको छ ।
यस्ता छन् थप निर्णयहरू
बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानबिनका आधारमा दोषीमाथि कारबाहीको सिफारिस गर्ने।
जेनजी आन्दोलनले उठाएको “नेपोटिज्म”को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ।
पार्टी केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्नेबारे निर्णय भएको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्नेछ।
पार्टीका सबै कमिटीहरूमा जेनजीको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने निर्णय भएको छ।
नेतृत्व हस्तान्तरणको प्रश्नमा बैठकमा महत्त्वपूर्ण बहस भएको छ। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढङ्गले नेतृत्व विकास, हस्तान्तरण र पार्टीमा नयाँ क्रमभङ्ग गर्ने।
पार्टी कमिटीहरू प्रविधिमैत्री बनाउने, अभिलेखीकरणको काम व्यवस्थित गर्ने।
