जेन-जी आन्दोलनको नेतृत्व गरेका हामी नेपालका संस्थापक सुदन गुरुङले आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बन्ने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिरासँगको अन्तर्वार्तामा उनले जनताले जिम्मेवारी दिएपछि पछि हट्ने कुनै विकल्प नभएको बताए।
गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरूको रगत लागेको सेतो भेस्ट देखाउँदै न्याय नपाएसम्म यो भेस्ट नधुने वाचा गरे। उनले हिंसा सुरु गर्ने काम आन्दोलनकारीले नभई तत्कालीन सरकारले गरेको आरोप लगाए। ‘पहिलो गोली सरकारतर्फबाट चलाइएको थियो,’ उनले भने।
उनले पुराना राजनीतिक दलका नेताहरूलाई अपराधका कारण चुनावमा भाग लिनै नदिने चेतावनी दिँदै ती दलले जितेमा परिणाम स्वीकार नगर्ने पनि स्पष्ट पारे। ‘सच्चा नेपालीले पुराना नेताहरूलाई जेलमै देख्न चाहन्छन्,’ उनले भने।
छिमेकी भारत र चीनसँगको सम्बन्धबारे प्रश्नमा गुरुङले सहकार्य आवश्यक भए पनि आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य हुने बताए। साथै, उनले राजतन्त्र पक्षधरहरूसँग सहकार्य गर्ने मनसाय नभएको तर सबै नेपालीलाई एउटै राष्ट्रिय झण्डामुनि एकताबद्ध हुन आग्रह गरे।
