• Wednesday 21st of October 2026

रास्वपालाई सुमनाको आग्रह- ‘स्टेकहोल्डर हुँ’ भन्दैगर्दा उजाडिएका काख र रित्रिएका सिउँदो सम्झनू


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा परित्याग गरेकी नेता सुमना श्रेष्ठले रास्वपाभित्रैबाट आफूविरुद्ध अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार साँझ सामाजिक सञ्जालमा ४ बुँदे लामो जवाफ लेख्दै उनले जंगीअड्डामा जान आफूले रोकेको भन्दै गरेको प्रचारबारे आपत्ति जनाएकी हुन् ।

उनले सभापति रवि लामिछानेलाई छुटाउन नख्खु कारागार पुग्दा इज्जत पनि सँगै मिल्काएर आएको हो ? भन्दै प्रश्न पनि गरेकी छिन् ।

‘यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनताविरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ?,’ उनले प्रश्न गरेकी छिन्, ‘हामीलाई सुमनाले लाइभ आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाँउमा मिल्काएर आउनु भो ? नख्खुमा इज्जत सँगै मानवता पनि जलाउनु भएको हो र ?’

तीन ठूला दलका नेतालाई चोर औंला देखाउँदै व्यक्तिवाद हावी भयो भन्दा चारवटा औंला आफैंतिर फर्कने कुरा पनि उनले स्मरण गराएकी छिन् ।

जेनजी प्रदर्शनको ‘स्टेक होल्डर’ हो भन्नु अघि भएको पार्टी निर्णय पनि सुमनाले सम्झिएकी छिन् ।

‘…कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजी आन्दोलनमा हाम्रो सहभागिता देशप्रति निष्ठावान नागरिकको भन्दा बढी थिएन र हुनु हुँदैन थियो,’ उनले भनेकी छिन्, ‘…हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरू र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖