• Wednesday 21st of October 2026

जेनजी वार्ता टोली भनी राखिएको आफ्नो नाममा आपत्ति जनाउँदै रक्षा बमले भनिन्- रोटी सेक्न खोज्ने अनुहार र समूहसँग सचेत बनौँ


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी जनआन्दोलनको म्यान्डेट संस्थागत गर्न भन्दै राष्ट्रपतिसँग वार्ता गर्न भन्दै घोषणा भएको ११ सदस्यीय टोली भित्रनै फेरी विवाद देखिएको छ ।

सरकारसँग आफ्ना मागहरू तत्काल पूरा गर्न माग गर्दै हिजो मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, लगायतका सदस्यहरूको एउटा टोली उनीहरूले बनाएका थिए । उक्त टोलीकै सदस्य रहेकी रक्षा बमले भने आफ्नो त्यसमा समर्थन नगरेको प्रस्ट पारेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले थाहा नै नदिई ,एकतर्फी ढङ्गले आफ्नो नाम वार्ता टोलीमा राखेको भन्दै असहमति जनाएकी हुन्।

आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेको भन्दै त्यो निकै नै गम्भीर र दुखद कुरा रहेको उनको भनाइ छ । यसमा सबै चनाखो र सचेत हुनु जरुरी रहेको उनी बताउँछिन् ।

सङ्क्रमणकालीन अवस्थामा रहेको सरकार, आन्दोलनको म्यान्डेट अनुसार नै चल्ने कुरामा उनले आशा प्रकट गरेकी छन् । आन्दोलनको म्यान्डेटभन्दा बाहिर गएको अवस्थामा फेरी सडक सङ्घर्ष गर्ने उनको सङ्केत छ ।

सामाजिक सञ्जालमा उनले यस्तो लेखेकी छन्

Sep 8-9 को आन्दोलनमा फरक फरक Gen Z समूह थिए भन्ने कुरा सर्वबिदितै छ ।

त्यही आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेका छन, जुन निकै नै गम्भीर र दुखद कुरा हो । यसमा सबै परिवर्तन पक्षधरहरु चनाखो र सचेत हुनु पनि जरुरी छ ।

हिजै मात्र केही फरक समूहका Gen Z साथीहरूले राष्ट्रपतिसँग वार्ता गर्ने टोलीको नाम र माईन्युट सार्वजनिक गर्नुभएको रहेछ जसमा मेरो नाम समेत उल्लेख थियो । त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै पनि सायद धेरै कुरा प्रष्ट पारिसकेको छ । तर यसैसन्दर्भमा मैले थप कुरा केही भन्नैपर्छ जस्तो लागेर तपाईहरूलाई आफ्नो स्पष्ट धारणा राख्न चाहन्छु ।

– सामुहिक माग लिएर सरकारसँग छलफलमा जान जो कोही साथीहरू जान पाउनुहुन्छ/पाउनुपर्छ । आफ्नो मुद्दालाई सरकारसँग लिएर जान
पाउनु नै हाम्रो लोकतान्त्रिक अधिकार हो । म लोकतन्त्रको पक्षमा छु ।

– साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई जसरी एकतर्फी ढंगले राखेर सार्वजनिक गर्नुभएको छ, त्यो नितान्त गलत गर्नुभएको छ । यसैक्रममा त्यहाँ मेरो नाम किन छ भन्ने प्रश्न गर्नको लागि मैले सो समूहका केही साथीहरूसँग हिजो छलफलमा पनि बसे । र स्पष्टसँग ‘तपाईंहरूले गलत गर्नुभयो’ भनेर पनि भने ।

– प्रथमत: त्यहाँ भएका नामहरू सहितको टोली गठनको प्रकृया र उद्देश्यबारे म अनभिज्ञ छु । त्यससँगै सो माईन्युटमा भएका कुनै पनि बुँदा मैले नपढेको जानकारी गराउँछु । त्यसकारण हर-एक बुँदामा पढ्दैनपढी र छलफल नगरी म ऐक्यबद्धता जनाउन नसक्ने कुरामा प्रष्ट छु ।

– प्रष्टैसँग Sep 8-9 को Gen Z आन्दोलनले सरकारलाई म्यान्डेट दिईसकेको छ । त्यो म्यान्डेट बारे हामी सबै जानकार भईसकेकै छौँ । यो संक्रमणकालिन अवस्थामा रहेको सरकार, आन्दोलनको म्यान्डेट अनुसार नै चल्ने कुरामा म आशावादी छु । आन्दोलनको म्यान्डेटभन्दा बाहिर गएको अवस्थामा खबरदारी गर्नका लागी सडक सँधै खुल्ला रहेको भन्ने बिषयमा पनि म स्पष्ट छु ।

– वार्तामा जाने भनिएका साथीहरू यो संवेदनशील परिस्थितिमा सचेत हुनुहुन्छ भन्ने मलाई लाग्छ । साथै यस संक्रमणकाललाई थप अनिश्चयमा धकेल्नतर्फ पक्कै लाग्नुहुन्न भन्ने कुरामा आशावादी छु । तर, यदि यो टोली गलत दिशातर्फ मोडिएको पाईएमा, त्यसलाई गलत भन्न र त्यस टोली बिरूद्ध पनि आवाज उठाउने कुरामा म लगायत साथीहरू प्रतिबद्ध रहेको जानकारी गराउँदछु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖