काठमाडौ । जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान दसैँपछि लिने भएको छ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले आइतबार मात्रै ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। साथै, उनीहरूले काठमाडौं उपत्यकाबाहिर जानुपर्ने भएमा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
आयोगका अनुसार भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनका घटनाबारे अनुसन्धान गर्न ओली र लेखकलाई पनि छानबिनको दायरामा ल्याइएको हो।
अनुसन्धानका लागि जति बेला पनि उपस्थित गराउन सक्नुपर्ने भएकाले विदेश यात्रा रोक्का र उपत्यकाबाहिर आवतजावतमा अनुमति अनिवार्य गरिएको आयोगले जनाएको छ।
