काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पोखरा आइपुग्दा सुरक्षाकर्मीले दिएको सुरक्षा अस्वीकार गर्दै साधारण नागरिकझैँ ट्याक्सी चढेर घर पुगेका छन्।
मन्त्री पुन काठमाडौंबाट जहाज चढेर पहिलोपटक पोखरा आइपुगेका हुन्। पोखरा विमानस्थलमा तैनाथ सुरक्षा टोलीलाई उनले ‘पर्दैन’ भन्दै फर्काइदिए। धर्के टिसर्ट, हाफ ज्याकेट, ढाकाटोपी र झोला बोकेर विमानस्थलबाट निस्किएका मन्त्री पुनले कुनै औपचारिक स्वागतबिना नदीपुरस्थित आफ्नो डेरासम्म ट्याक्सीमार्फत यात्रा गरेका थिए।
२५ वर्षदेखि डेरामा बस्दै आएका मन्त्री पुन चितवनमा दशैं मनाउन पर्यटक बस चढेर परिवारसहित गएका छन्। ‘घरको ठूलो म भएकाले भाइबहिनीलाई टीका लगाइदिनुपर्छ,’ उनले बताए।
साधारण जीवनशैली, मौलिक लवाइखवाइ र सुरक्षा नचाहने स्वभावले मन्त्री पुन आम जनतामाझ थप लोकप्रिय बनेका छन्। सामाजिक सञ्जालमा उनको साधारण यात्रा शैलीका दृश्यहरू भाइरल भएका छन्।
