काठमाडौं । नयाँ संविधानपछिको दोस्रो आवधिक निर्वाचनमा अचानक चम्किएको ‘लौरो चुनाव चिह्न’ अहिले फेरि चर्चामा छ। बालेन्द्र शाह (बालेन) र हर्कराज राई (हर्क साम्पाङ) मेयर बनेपछि यो चिह्न युवाबीच एउटा ब्राण्ड झैँ बन्यो।
२०७९ मा ‘हाम्रो नेपाली पार्टी (हानेपा)’ दर्ता गरेर लौरोलाई आधिकारिक बनाए पनि त्यसपछिका संघ र प्रदेश निर्वाचनमा भने खासै चम्कन सकेन। तर अहिले जेन-जी आन्दोलनले मुलुकलाई मध्यावधि निर्वाचनतर्फ धकेलेसँगै बालेन फेरि पार्टी निर्माणको गृहकार्यमा सक्रिय देखिएका छन्।
चासोको कुरा के छ भने, बालेनले नयाँ दल घोषणा गर्नुको सट्टा हानेपा मार्फत नै अघि बढ्ने सम्भावना बलियो बन्दै गएको छ। तत्कालीन समयमा हानेपा दर्ता हुँदा पनि बालेनकै टिमको समर्थन रहेको आयोगका एक कर्मचारीले स्मरण गरे। हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले समेत लौरोलाई संस्थागत गर्न बालेनकै सल्लाह र सहयोग रहेको खुलेआम स्वीकार गरिसकेका छन्।
हानेपाका नेताहरू अहिले खुलेरै भन्छन्–
👉 “अर्को चुनावमा नेतृत्व बालेनकै हुन्छ, हामी पछि लाग्छौं।”
यसबिच, बालेन सचिवालयले पनि “हानेपासँगको सम्बन्ध” नकारेन। स्वकीय सचिव भूपदेप साहले पार्टी निर्माणबारे छलफल भइरहेको बताए।
त्यसैगरी, बालेनलाई खुलेर समर्थन गर्नेहरूको लिस्ट पनि लामो हुँदैछ।
हानेपा प्रवक्ता रोहन कार्कीले सामाजिक सञ्जालमा बालेनलाई “व्यक्ति होइन, विचार” भनेर प्रस्तुत गरेका छन्।
जेन-जी नेतृत्त्व गर्ने सुदन गुरुङ पनि अहिले बालेनको पक्षमा खुलेका छन्।
यद्यपि, सबै बाटो सजिलो छैन। लौरोकै अभियानबाट उदाएका सुमन सायमी भने अहिले बालेनसँग टकरावमा छन् र राजेन्द्र महतोको पार्टीतर्फ लागेका छन्।
🔑 अब सबैको नजर एउटै प्रश्नमा अडिएको छ :
👉 बालेनले आधिकारिक रूपमा हानेपाको नेतृत्व लिनेमात्र हो कि नयाँ राजनीतिक चमत्कार देखाउनेछन्?
