राजनीतिशास्त्रका वरिष्ठ प्राध्यापक लोकराज बरालले प्रत्यक्ष राष्ट्रपतीय प्रणाली नेपालजस्तो समाजमा खतरनाक हुने चेतावनी दिएका छन्। हिमालखबरसँगको अन्तर्वार्तामा उनले यस्तो प्रणालीले एकाधिकारवादी शासन जन्माउन सक्ने बताउँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्न संवैधानिक प्रक्रिया र राजनीतिक सहमति आवश्यक रहेको धारणा राखे।
८७ वर्षीय बरालले हालैको जेन–जी आन्दोलनलाई स्वतःस्फूर्त विद्रोह भने पनि त्यसमा बाह्य प्रभाव र पूर्वराजावादीहरूले अवसर खोजेको टिप्पणी गरे। उनले आन्दोलनले भ्रष्टाचारविरोधी मुद्दा, न्याय र सामाजिक नियन्त्रणका सवाल उठाए पनि छोटो समयमा ठूलो क्षति निम्त्याएको स्मरण गराउँदै ४८ घण्टामै ७५ जनाको मृत्यु हुनु नेपालकै इतिहासमा अभूतपूर्व भएको बताए।
उनका अनुसार, नेपालमा राजतन्त्र वा सैनिक शासनजस्तो विकल्पको सम्भावना छैन। बरालले नेपाली समाज संवाद, सहिष्णुता र समन्वयमा आधारित भएकाले राजनीतिक स्थायित्व सम्भव भएको उल्लेख गरे। जातीय र धार्मिक विविधता हुँदाहुँदै पनि सहिष्णु संस्कृतिका कारण समाज बलियो बनेको उनको भनाइ छ।
बरालले जेन–जी आन्दोलनपछिका मागहरू संवैधानिक प्रक्रियाबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले तोकिएको समयमा चुनाव सम्पन्न गरी संसद्मार्फत साझा एजेन्डा तयार गर्नु नै दीर्घकालीन समाधान हुने बताए। “लोकतन्त्र नै विकल्प हो, त्यसलाई संस्थागत र बलियो बनाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्छ,” बरालले भने।
