काठमाडौं । कांग्रेस नेता डा. सुनिल शर्माले समाजसेवी महावीर पुनलाई छोरीको चिकित्साशास्त्र (MBBS) अध्ययनका लागि विदेश पठाउने निर्णयमा सहमत गराउने प्रक्रिया बारे खुलासा गरेका छन्।
डा. शर्माका अनुसार, उनले एकपटक राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुरमा महावीर पुनलाई भेटेका थिए। भेटका क्रममा छोरीको अध्ययनबारे हल्का चर्चा हुँदा डा. शर्माले नेपालकै काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा पूर्ण छात्रवृत्तिमा पढाउन सकिने प्रस्ताव राखेका थिए र त्यसअनुसार चिकित्सा शिक्षा आयोगमा लिखित अनुरोध पनि गरेका थिए। तर उक्त प्रयास सफल हुन सकेन।
त्यसपछि उनले महावीर पुनलाई फोन गरी नेपालमै सम्भावना सकिएको र विदेशमा पढाउने विकल्प बाहेक अरु उपाय नरहेको बारे बुझाए। पुनले सुरुवातमा अलिक अनाकानी गरे पनि डा. शर्माले भने,
“पैसाको अभाव भए हामी सहयोग गर्छौं। तपाईं मात्र निर्णय लिनुहोस्।”
-जसपछि पुन सहमत भएका थिए।
डा. शर्माले पुनकी छोरीको पासपोर्ट समेत बन्न सहयोग गरे र आफ्ना पुराना साथी डा. नरेन्द्र मिश्र (आधार एजुकेशन, पुतलीसडक) मार्फत बांग्लादेशको जहारूल इस्लाम मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु गराएका थिए।
शर्माले डा. मिश्रलाई पुनजस्तो व्यक्तिबाट कुनै कन्सल्टेन्सी शुल्क नलिन र सबै प्रक्रिया पारदर्शी बनाउन विशेष अनुरोध गरेका थिए। अहिले पुनकी छोरी उक्त कलेजमा MBBS अध्ययनरत छिन्।
“पुनले हालसम्म ५०% भन्दा बढी शुल्क तिरेका छैनन्। १ करोड खर्चको हल्ला सरासर झूटो हो। यस्तो भ्रम फैलाएर इमानदार समाजसेवीमाथि चरित्र हत्या गर्ने प्रयास सफल हुन दिनु हुँदैन।”
