• Wednesday 21st of October 2026

असोज २३ गते जेन-जी युवाहरू फेरि आन्दोलन गर्दै छन्?


  • धनकुटा खबर
  • .

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि अहिले सामाजिक सञ्जालमा अक्टोबर ९ (असोज २३) को विरोध कार्यक्रमलाई लिएर चर्चा सुरू भएको छ।

जेन–जी युवाहरूले त्यस दिन फेरि विरोध कार्यक्रम आयोजना गर्न लागेको हल्लाले धेरैलाई सशंकित बनाइरहेको छ।

के अक्टोबर ९ अर्थात् असोज २३ गते फेरि कुनै विरोध कार्यक्रम हुन लागेको हो?

जेन–जी अभियानमा लागेका विभिन्न समूहका अगुवाहरूले अक्टोबर ९ मा आफ्नो तर्फबाट कुनै विरोध कार्यक्रम आयोजना नगरिएको बताएका छन्। कतिले सामाजिक सञ्जालमा लेखेर उक्त हल्लाको खण्डन गरेका छन् भने कतिले प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिएका छन्।

जेन–जी आन्दोलनमा संलग्न र भदौ २४ गते राति सैनिक मुख्यालयमा वार्ता गर्ने टोलीमा संलग्न युजन राजभण्डारी र तनुजा पाण्डेले ‘अक्टोबर ९ मा हुने भनिएको विरोध कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको’ भन्दै उही बेहोराको स्ट्याटस सामाजिक सञ्जालमा सेयर गरेका छन्।
‘कुनै पनि प्रकारको हिंसात्मक गतिविधिलाई मेरो समर्थन रहने छैन,’ उनीहरूले लेखेका छन्, ‘राज्यको शान्ति प्रक्रिया भड्काउने, डर त्रास फैलाउने र जेन–जी आन्दोलनलाई बदनाम गर्ने गतिविधि एकदमै गम्भीर र निन्दनीय कार्य हो।’

जेन–जी समूहकी अर्की अगुवा रक्षा बमले पनि आफ्नो फेसबुकबाट ‘अक्टोबर ९ मा फेरि आन्दोलन हुँदैछ भनेर अफवाह फैलाइएको’ उल्लेख गर्दै त्यसमा आफू र आफ्ना साथीहरू कसैको संलग्नता नरहेको प्रस्ट पारेकी छन्।

‘सडकमा लागेको रगतको छाप अझै सुकेको छैन। घाइते भएका साथीहरू अझै अस्पतालको बेडमै हुनुहुन्छ। निहत्थाहरूमाथि निरकुंश तानाशाही शासकले अन्धाधुन्ध गोली बर्सायो। आन्दोलनको आडमा हाम्रा धरोहरहरू जलाइए। युवाहरू ढले। आँखामा आँसु ओभाएका छैनन्। भयावह दृश्य आँखैअगाडि नाचिरहन्छ। हामी चाडबाडको पृष्ठभूमिमा छौं तर दिल खोलेर दसैंको शुभकामना भन्न सकिरहेका छैनौं,’ उनले लेखेकी छन्।

उनी अगाडि लेख्छिन्, ‘हामी त्रासमै थियौं तर जंगी अड्डाभित्र राज्यमा शान्ति कायम हुनुपर्छ भनेर उभिइरह्यौं। निकै रस्साकस्सीको बीचबाट नागरिक सरकार बनेको छ। आन्दोलनको म्यान्डेट लिएर सरकार आफूले सक्दो गतिमा काम गर्न खोजिरहेको छ। यस्तो संक्रमणकालीन अवस्थामा राज्यको शान्ति खल्बल्याउन खोज्ने, डरत्रास फैलाउने, जेन–जी आन्दोलनलाई बदनाम गर्न खोज्ने हर प्रकारका दुष्प्रयन्त भइरहेका छन्। सायद उनीहरू चुनाव नहोस् भन्ने चाहन्छन्। देश शान्त नहोस् भन्ने चाहन्छन्। एउटा अर्को भड्खालोमा देशलाई जाक्न पाए, आफ्नो अभिप्राय पूरा हुन्छ भन्ने सपना बुनिरहेका छन्।’

‘हामीले कुनै पनि किसिमको हिंसात्मक गतिविधिलाई न हिजो समर्थन गरेका थियौं, न भोलि समर्थन गर्ने छौं,’ उनी लेख्छिन्, ‘नागरिक अधिकार, भ्रष्टाचारको विरोध, सुशासन र जबाफदेहिताको खोजीका लागि भएको जेन–जी आन्दोलनलाई धमिल्याउने प्रयास गर्ने कुन्ठित मानसिकता भएकाहरू होसियार। हामी तिमीहरूको पनि विरूद्ध उभिन तयार छौं।’
रक्षाले ‘साथीहरू सजग रहनुहोला’ भन्दै कुनै पनि हिंसात्मक गतिविधि र शान्ति प्रक्रियालाई बदनाम गर्न खोज्नेहरूलाई साथ नदिन आह्वान गरेकी छन्।

त्यस्तै, भावना राउतले ‘अक्टोबर ९ मा हुने भनिएको विरोध कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको र कुनै प्रकारको हिंसात्मक गतिविधिलाई समर्थन नगर्ने’ उल्लेख गरेकी छन्।

‘राज्यको शान्ति प्रक्रियामा अवरोध ल्याउने, डर र त्रास फैलाउने र जेन–जी आन्दोलनलाई बदनाम गर्ने प्रयासहरू गम्भीर र निन्दनीय छन्,’ उनले फेसबुकमा लेखेकी छन्, ‘शान्ति, न्याय र सद्भावको मार्गमा हिंसा र भ्रमको कुनै स्थान छैन। विभिन्न समूहहरूले आफ्ना स्वार्थका लागि जेन–जी को नाम प्रयोग गरेर आन्दोलनलाई विकृत बनाउने प्रयास गरिरहेका छन्, तर वास्तविक जेन–जी सधैं न्याय, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरूको पक्षमा उभिन्छ।’

उनी अगाडि लेख्छिन्, ‘अब जेन–जी सरकारका कार्यहरूको निगरानी गर्ने, चुनावलाई शान्तिपूर्ण र पारदर्शी बनाउने, मतदातालाई शिक्षित गर्ने र देशको नयाँ भविष्य लोकतान्त्रिक मार्गबाट निर्माण गर्नेछ। हामीलाई कुनै भ्रममा पार्ने कल्पना पनि नगर्नुहोस्।’

काठमाडौं जिल्ला प्रशासन कार्यालय गएर भदौ २३ गते माइतीघरमा प्रदर्शनी आयोजना गर्न अनुमति लिने पुरूषोत्तम यादव र उनको समूहले अक्टोबर ९ मा जेन–जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भए पनि त्यस दिन आफूहरूले कुनै कार्यक्रम आयोजना नगरेको प्रस्ट पारेका छन्।

‘हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थका लागि होइन। यो जनताका लागि, जनताको आवाजका लागि हो,’ यादवले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖