• Wednesday 21st of October 2026

किराती राजाको सन्तान हुं,प्रधानमन्त्री बन्न मेरो पूर्ण हक छ :हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । धरानका मेयर हर्कराज साम्पाङले आफूलाई प्रधानमन्त्री बन्ने अधिकारपूर्ण दाबी गर्दै सामाजिक सञ्जालमार्फत लामो प्रतिक्रिया दिएका छन्। उनले देश संकटमा परेको बेला मौन बस्न नसक्ने र सक्रिय नेतृत्व लिनुपर्ने बताउँदै काठमाडौं आउनुको कारण पनि यही भएको प्रष्ट पारे।

साम्पाङले आफ्नो अभिव्यक्तिमा विगतका अनुभव र ऐतिहासिक पृष्ठभूमि जोड्दै आफू किराती राजाहरुको सन्तान भएकाले पनि नेतृत्व गर्ने अधिकार हुने दाबी गरेका छन्। उनका अनुसार, किराती शासकहरूले नेपालमा दीर्घकालीन शासन गरेको ऐतिहासिक तथ्य भएकाले आफूलाई प्रधानमन्त्री बन्न पूर्ण हक लाग्छ।

“देश जलिरहेको र ढलिरहेको टुलुटुलु हेरेर बस्न सक्दिनँ, त्यसैले काठमाडौं आएको हुँ,” साम्पाङले लेखेका छन्। उनले जनताको पीडा बुझ्ने जिम्मेवार नागरिकको हैसियतले पनि देशको नेतृत्व गर्ने हक हुने दाबी गर्दै “प्रधानमन्त्री बन्न काठमाडौं गएको” भन्ने चर्चामा खुलेर जवाफ दिएका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका भनाइमा भ्रष्टाचार, विदेशी हस्तक्षेप, अन्याय र दमनका विरुद्ध आफू सधैं बोल्दै आएको उल्लेख छ। उनले विदेशी शक्तिको आडमा पदमा पुग्ने, भ्रष्टाचारमा लिप्त हुने वा स्वाभिमान बेच्ने नेताहरूसँग आफूलाई तुलना गर्न नमिल्ने बताए।

उनले थपे, “देशलाई विदेशी शक्तिले खेलाइरहँदा खबरदारी गरें, अन्यायविरुद्ध कराएँ। मेरो रगतमै अन्यायविरुद्ध बोल्ने स्वभाव छ। त्यसैले चुप लाग्न सक्दिनँ।” साम्पाङका अनुसार, नेतृत्वको असली अर्थ जनतासँग घुलमिल हुने, सडकमा उपस्थित हुने र विदेशीको टिका नलगाई आफ्नै श्रम र स्वाभिमानमा अडिने हो।

प्रधानमन्त्री बन्ने आकांक्षामा खुलेर अभिव्यक्ति दिएका साम्पाङको यो वक्तव्यलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। कतिपयले उनलाई “साहसी” भन्दै समर्थन गरेका छन् भने केहीले “अतिवादी दाबी” भन्दै आलोचना पनि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖