हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गाजा शान्ति प्रस्तावलाई स्वीकार गर्दै आफूसँग रहेका सबै इस्रायली बन्धकहरू—मृत वा जीवित—मुक्त गर्ने घोषणा गरेको छ। संगठनले वार्ता अन्तिम टुंगोमा पुर्याउन मध्यस्थता गर्ने तयार रहेको पनि जनाएको छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा हमासको वक्तव्य सार्वजनिक गर्दै यसलाई “स्थायी शान्तिको तयारी” भएको दाबी गरे। उनले इस्रायललाई गाजामा जारी बमबारी तत्काल रोक्न आग्रह गर्दै बन्धकलाई सुरक्षित रूपमा फिर्ता ल्याउन अनुकूल वातावरण आवश्यक भएको बताएका छन्।
ह्वाइट हाउस ओभल अफिसबाट जारी भिडियो सन्देशमा ट्रम्पले कतार, टर्की, साउदी अरब, इजिप्ट र जोर्डनलगायत मुलुकलाई धन्यवाद दिंदै “शान्ति सम्झौतामा पुग्ने निकै नजिक” भएको अभिव्यक्ति दिएका छन्। उनले यो दिनलाई ऐतिहासिक मोडको रूपमा वर्णन गर्दै सबै बन्धकहरू चाँडै आफ्ना परिवारसँग फर्किने आशा व्यक्त गरे।
हमासले आफ्नो निर्णय नेतृत्व तहमा गहन छलफलपछि, अन्य प्यालेस्टिनी समूहहरूसँगको परामर्श र मध्यस्थ मुलुकहरूसँगको संवादपछि लिएको बताएको छ। संगठनले गाजाको प्रशासन स्वतन्त्र प्यालेस्टिनी निकायलाई सुम्पिने प्रतिबद्धता जनाएको छ। तर, ट्रम्पको २० बुँदे शान्ति योजनामा उल्लेख भएको हमासको निःशस्त्रीकरणबारे भने हमासले स्पष्ट प्रतिक्रिया दिएको छैन।
कतार र फ्रान्सले हमासको घोषणालाई स्वागत गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सबै बन्धकको मुक्तिसँगै गाजामा युद्धविराम “नजिकै” भएको उल्लेख गर्दै यस अवसरलाई निर्णायक प्रगतिमा परिणत गर्नुपर्ने बताएका छन्।
यो घटनाक्रम ट्रम्पले हमासलाई चेतावनी दिँदै “बन्धकहरू आइतबार रातिसम्म नछोडिएमा नेताहरू शिकार गरी मारिनेछन्” भनेको केही घण्टापछि आएको हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इस्रायलमाथि आकस्मिक आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। त्यस आक्रमणमा झन्डै १,२०० इस्रायली मारिएका थिए भने २५० जना अपहरणमा परेका थिए। गाजास्थित हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।
यो घटनाक्रम अझै विकसित हुँदै गएको छ र थप विवरण आउन बाँकी छ।
