• Wednesday 21st of October 2026

जेन–जी मुभमेन्ट अलायन्सले गर्यो अख्तियार प्रमुख आयुक्त राई सहित सम्पूर्ण आयुक्तहरूलाई स्वेच्छिक राजीनामा दिन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौ। भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिँदै जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ।

३९ जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेन–जी समूहहरूको सहभागितामा गठित उक्त अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “भ्रष्टाचार र दण्डहीनताको अन्त्य हाम्रो आन्दोलनको प्रमुख उद्देश्य हो, तर अख्तियार नेतृत्व नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना नियुक्त भएकाले आयोगको विश्वसनीयता गुमेको छ।”

अलायन्सका अनुसार प्रमुख आयुक्त राईसहितका आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको छ।

विज्ञप्तिमा हालसालैको विशेष अदालतको निर्णयलाई उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइएको छ। अदालतको आदेशमा राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ गरेको टिप्पणीसमेत उल्लेख भएको समूहको दाबी छ।

जेन–जी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त राईको संलग्नता देखिएका नेपाल आयल निगम जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई पनि उद्धृत गर्दै उनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

समूहले भनेको छ — “यी घटनामा प्रत्यक्ष वा नियामक भूमिकामा रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ। राजीनामामार्फत मात्रै अख्तियारको गरिमा र जनविश्वास पुनःस्थापना गर्न सकिन्छ।”

हाल संघीय संसद् नहुँदा महाअभियोग प्रक्रिया सम्भव नभएकाले, समूहले राजीनामाबाट पद रिक्त गर्नुपर्ने र त्यसपछि अन्तरिम सरकारले खुला आवेदन प्रणालीमार्फत नयाँ नियुक्ति समिति गठन गर्नुपर्ने माग गरेको छ। उनीहरूले नयाँ आयुक्तहरूलाई “पहुँचवालाको बन्द सूचीबाट होइन, योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट” नियुक्त गर्न पनि आग्रह गरेका छन्।

यदि माग पूरा नभए असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यक परे शान्तिपूर्ण प्रदर्शन गर्ने चेतावनी अलायन्सले दिएको छ। समूहका अगुवा अमित खनालका अनुसार, मागका सम्बन्धमा प्रधानमन्त्री, राष्ट्रपति र अख्तियार प्रमुखलाई इमेल पठाइएको छ।

खनालले भने, “यदि प्रमुख आयुक्तले स्वेच्छिक राजीनामा दिएनन् भने, अख्तियार कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शनमार्फत नागरिक दबाब सिर्जना गर्नेछौं।”

जेन–जी मुभमेन्ट अलायन्सले भनेको छ — यो माग कुनै राजनीतिक स्वार्थका लागि होइन, जनताको विश्वास पुनःस्थापित गर्न र अख्तियारलाई साँच्चै निष्पक्ष निकाय बनाउनको लागि हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖