जेन–जी आन्दोलनका अभियन्ता सुधन गुरुङ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न शुक्रबार प्रहरी कार्यालय पुगेका छन्। तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ।
गुरुङले दुवै नेतामाथि जेन–जी आन्दोलनका क्रममा नागरिकमाथि भएको गोलीकाण्ड र बल प्रयोगमा प्रत्यक्ष भूमिका खेलेको आरोप लगाउँदै जाहेरी दर्ता गर्न खोजेका थिए। उनले सोही विषयमा लिखित उजुरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए।
तर, प्रहरी अधिकारीहरूले “जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगको अधिकार क्षेत्रमा परेको” भन्दै जाहेरी लिन नमानेका हुन्।
जाहेरी अस्वीकार भएपछि आक्रोशित गुरुङले प्रहरीमाथि असहयोगी व्यवहारको आरोप लगाउँदै भने, “न्याय दिनुपर्ने संस्थाले ढोका बन्द गर्छ भने, अब सडकबाटै देखाइदिन्छु।”
प्रहरीका अनुसार सरकारले गठन गरेको जाँचबुझ आयोगले उक्त आन्दोलनका सबै घटनामाथि अनुसन्धान गरिरहेको छ, त्यसैले सोही विषयमा छुट्टै जाहेरी लिन नमिल्ने बताइएको छ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा देशभर ५० भन्दा बढी नागरिकको मृत्यु र सयौँ घाइते भएका थिए। उक्त घटनाको छानबिनका लागि सरकारले आयोग गठन गरे पनि, आयोगको निष्पक्षता र प्रभावकारिताबारे प्रश्न उठ्दै आएको छ।
गुरुङले ओली र लेखकले राजनीतिक आदेशमा बल प्रयोग गर्न निर्देशन दिएको र त्यसको प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने दाबी गरेका छन्। उनले राज्य संयन्त्रले जिम्मेवारी नलिए नागरिकले सडकबाट न्याय खोज्न बाध्य हुने चेतावनी पनि दिएका छन्।
