• Wednesday 21st of October 2026

बालेन र सुदनविरुद्ध काभ्रे प्रहरीमा पनि जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काभ्रेमा पनि जाहेरी परेको छ ।

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु काभ्रेका उपाध्यक्ष सुजन सापकोटा र आयुष बडालले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएका हुन् ।

उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा १७७, दफा १७८, दफा २४४ र दफा २८५ (आपराधिक उपद्रव) अन्तर्गत जाहेरी दिएका हुन् ।

अनेरास्ववियुले दिएको जाहेरीमा उनीहरूकै निर्देशनमा बनेपा नगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, नेकपा एमाले काभ्रेको कार्यालय, नेपाली कांग्रेस काभ्रेको कार्यालय काभ्रे, पनौतीका पूर्व नगर प्रमुख भीम न्यौपानेको घर, धुलिखेलका नगर प्रमुख अशोक व्यान्जुको घर, पनौतीकी उपप्रमुख गीता बन्जाराको घर, व्यवसायी रामेश्वर थापाको घर, कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको घर र गाडी, पनौती नगर प्रमुख रामशरण भण्डारीको घरमा तोडफोड तथा जलाइएको उल्लेख छ ।

राष्ट्रिय सम्पदाहरू, भवन, संरचनाहरू तथा सरकारी कार्यालयका सामान तथा कागजातहरू तथा सरसामानहरू लुटपाट गरी चलअचल सम्पति नष्ट गरेको र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनी विभिन्न मानिसहरूलाई उक्साएर कानुन विपरीत कार्य गरेको जाहेरीमा उल्लेख छ ।

मेयर शाहले आफ्नो फेसबुकमार्फत सिंहदरबार आगो लगाइदिन्छु भनी देशकै प्रशासनिक केन्द्र प्रति नकारात्मक टिप्पणी गरी आगो लगाई ध्वस्त बनाउने आशयको स्ट्याटस लेखेको केही महिना पश्चात नै आन्दोलनको नाममा भएको आगजनीले हाम्रो देशको ऐतिहासिक भवन संरचनामा क्षति पुगेको र सो भवन नष्ट भई त्यहाँ भित्र रहेको चल अचल सम्पत्ति चोरी डकैती तथा नष्ट भएको जाहेरीमा उल्लेख गरिएको छ ।

यस्तै सिंहदरबारमा आगजनी पश्चात सुदनले ‘अब बालुवाटार’ भनी बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा आगो लगाउनुपर्छ भन्ने आशयका साथ सयाैँ मान्छेहरूको भिडलाई बालुवाटारमा आगो लगाउन उक्साई आफू समेत सामेल भई प्रधानमन्त्री निवासमा आगो लगाउने कार्य गरी डकैती गरी आपराधिक उपद्रव समेत गरेको अवस्थामा उक्त विध्वंसात्मक अवस्थालाई नियन्त्रणमा लिने प्रयास गर्दै आफ्नो आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूलाई भौतिक आक्रमण गरी, बर्दीमा नै हातपात गरी निजहरूको हत्या समेत गरेको, विद्यार्थीहरूको समेत हत्या भएको दाबी गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि आयोग बनेको र उक्त जाहेरी आयोगमै पठाइने जानकारी दिए ।

यसअघि उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडाैँमा समेत जाहेरी परेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖