काठमाडौ । मापदण्ड विपरीत राखिएका २४ जना सुरक्षाकर्मी सरकारले फिर्ता गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दैनिक ७० देखि १०० वाइसिएल र पूर्वलडाकुले सुरक्षा दिन थालेका छन् ।
सामान्य अवस्थामा ४५ जना वाइसिएल कार्यकर्ता प्रचण्डका वरिपरि हुन्छन्। त्यसलाई दुई घेरामा विभाजन गरी प्रचण्डको सुरक्षा व्यवस्था मिलाइएको वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिएका छन्।
पहिलो घेरामा १५ जना वाइसिएल हुन्छन्। दोस्रो घेरामा ३० जना वाइसिएल खटिएका हुन्छन्। त्यो टोली प्रचण्ड रहेको ठाउँबाट बढीमा १५० मिटर पर खटिन्छ र सुरक्षा संवेदनशीलता र गतिविधिहरूको अवलोकन गर्छ। पहिलो र दोस्रो घेरामा सेना समायोजन हुँदा नेपाली सेनामा भर्ती भएर अहिले रिटायर्ड भएका पूर्वलडाकू हुन्छन्। बाहिरी कार्यक्रम तय भएको खण्डमा सुरक्षाको तेस्रो घेरा खडा गरिन्छ।
इन्चार्ज दिपशिखाका अनुसार काठमाडौं उपत्यकाभित्रको कार्यक्रम छ भने वाइसिएलले केन्द्रबाटै टोली खटाउँछ। कति जना खटाउने भन्ने निर्क्योल कार्यक्रममा उपस्थित भिडअनुसार हुन्छ। ठूलो कार्यक्रम छ भने ५०/६० जनाको टोली खटिन्छ। मध्यम छ भने ३० जना र त्योभन्दा कम छ भने १० जना खटाइन्छ।
