• Tuesday 20th of October 2026

मिराज ढुंगानाको आग्रह: ‘निर्वाचनमा सबै दल सहभागी हुनुस्, स्वच्छ प्रतिस्पर्धा हुन्छ’


  • धनकुटा खबर
  • .

काठमाडौ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले आसन्न निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सहभागी हुन आग्रह गरेका छन्। शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रतिस्पर्धाको आव्हान गरेका हुन्।

ढुंगानाले भने, “यो प्रजातान्त्रिक प्रक्रिया हो, कसैले कसैलाई रोक्ने होइन। सबै दल आउनुस्, जनताले छान्नेछन्, स्वच्छ प्रतिस्पर्धा हुन्छ।”

उनले मन्त्रिपरिषद्मा युवाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग पनि राखे। “सडकको रगत क्याबिनेटसम्म पुग्नैपर्छ,” भन्दै उनले युवा पुस्ताको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरे।

छलफलका क्रममा राष्ट्रपति पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएका कारण जेनजी प्रतिनिधिहरूसँगको औपचारिक वार्ता सोमबारका लागि सारिएको छ। तर राष्ट्रपति अस्पताल जानुअघि प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूले जेनजी नेताहरूसँग करिब एक घण्टा अनौपचारिक वार्ता गरेका थिए।

छलफलमा जेनजीका प्रतिनिधिहरूले सुशासन, संविधान संशोधन र युवाको भूमिकाबारे आफ्ना धारणा राखेका थिए। वार्तामा सहभागी हुन नपाएका केही युवाहरूले बाहिर नाराबाजी गर्दै असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖