• Tuesday 20th of October 2026

प्रहरीकोमा आफै पुगे जेनजी आन्दोलनका क्रममा पेस्तोलसहित देखिएका भनिएका युवक तेन्जेन दावा


  • धनकुटा खबर
  • .

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पेस्तोलसहित देखिएका भनिएका युवक तेन्जेन दावा आफैं प्रहरीमा पुगेका छन्। आइतबार बिहान उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेका थिए। त्यसपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको एसएसपी रमेश बस्नेतले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, दावाले आफू टीओबी (TOB) समूहको सदस्य भएको स्वीकार गरेका छन्। तर उनले भिडिओमा देखिएको पेस्तोलसहितको दृश्य पुरानो भएको दाबी गरेका छन्। “भिडिओमा देखिएको व्यक्ति आफू भएको स्वीकार गरे पनि त्यो घटना पहिलेको हो,” परिसरका एक अधिकारीले बताए।

जेनजी आन्दोलनका क्रममा टीओबी लेखिएको टिसर्ट लगाउने समूहले आन्दोलन भड्काएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। उक्त समूहका सदस्यहरू आन्दोलनका क्रममा हतियारसहित देखिएका तस्बिर र भिडिओ सार्वजनिक भएपछि निगरानीमा परेका थिए।

प्रहरीले दावाको मोबाइल, अभिव्यक्ति र सामाजिक सञ्जालका गतिविधि पनि परीक्षण गर्न थालेको छ। अधिकारीहरूका अनुसार, दावाको बयानका आधारमा टीओबी समूहका अन्य सदस्यहरूमाथि पनि अनुसन्धान तीव्र बनाइएको छ।

प्रहरी स्रोतका अनुसार, आन्दोलनमा देखिएका अन्य पहिचान नभएका व्यक्ति र समूहको पनि फुटेज र तस्बिर विश्लेषण गरेर पहिचान प्रक्रिया सुरु गरिएको छ।

प्रहरीका अनुसार, “जेनजी आन्दोलनमा सक्रिय रहेकाहरूको भूमिकाबारे गम्भीर छानबिन भइरहेको छ, कुनै पनि व्यक्तिलाई प्रमाणका आधारमा मात्र कारबाही गरिनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖