काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछोड्ने ठाडो अडान लिएका छन्।
जेन–जी आन्दोलनपछि बालुवाटारबाट गुण्डु पुर्याइएका ओलीमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट राजीनामाको दबाब बढिरहेको बेला उनले सचिवालय बैठकमै ‘मैले किन छाड्ने?’ भन्दै आफू अध्यक्ष पदमा नै रहने अडान दोहोर्याएका हुन्।
आइतबार गुण्डुस्थित अस्थायी निवासमा बसेको एमाले सचिवालय बैठकमा सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले राजीनामा दिएर सम्मानजनक निकास लिनुपर्ने सुझाव दिएका थिए। तर ओलीले ती सुझाव अस्वीकार गर्दै भने, “दुई जनाले मागे भन्दै म किन छोड्ने? म कुनै गल्ती गरेको छैन, महाधिवेशनले निर्णय गर्छ।”
पार्टीभित्र अधिकांश पदाधिकारीहरूले ओलीले राजनीतिक र नैतिक जिम्मेवारी लिएर पद हस्तान्तरण गर्नुपर्ने धारणा राखे पनि उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताले ओलीको पक्षमा उभिएका थिए। बैठकमा विष्ट र भट्टराईले ओलीलाई “अभिभावकको भूमिकामा रहनुहोस्” भन्दै नेतृत्व हस्तान्तरणको आग्रह गरेका थिए।
तर ओलीले आफूले बनाएको पार्टीलाई अहिले छोड्नु राजनीतिक अस्थिरताको संकेत हुने भन्दै राजीनामा नदिने अडान दोहोर्याए। उनका अनुसार, अहिलेको संकट विदेशी चलखेल र बाहिरी शक्तिको अस्थिरता फैलाउने प्रयासको परिणाम हो। “म भाग्दिनँ, यो समयमा नेतृत्व छोड्नु जिम्मेवारी होइन,” उनले भनेका थिए।
सचिवालयको बहुमतले ओलीको राजीनामा मागे पनि निर्णय बिना बैठक टुंगिएको छ। एमालेभित्र अब आगामी महाधिवेशनमै नेतृत्व परिवर्तनको विषय टुंगो लाग्ने देखिएको छ। ओली निकट नेताहरूले भने यो घटनालाई ‘ओलीको जित’ भन्दै पार्टीभित्र प्रचार गर्न थालेका छन्।
