नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने सहमति बनेको छ।
दुई पार्टीबीच भएको वार्तामा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्ने प्रस्तावमा सहमति भएको हो। दुवै पक्षले समाजवादी मोडलमा आधारित नयाँ कम्युनिस्ट पार्टी गठन गर्ने तयारी गरेका छन्।
वार्ता समितिका अनुसार, नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र दीर्घकालीन लक्ष्य ‘वैज्ञानिक समाजवाद’ रहनेछ। माओवादीले यससँगै ‘माओवाद’ सिद्धान्त औपचारिक रूपमा परित्याग गर्ने तयारी गरेको छ। नयाँ पार्टीको चुनाव चिन्ह कम्युनिस्ट प्रतीक झल्किने बनाउने सहमति समेत भएको छ।
एकतापछि बन्ने महाधिवेशन आयोजक समितिको संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दोस्रो वरीयतामा रहने बुझिएको छ। यद्यपि, नेताहरूबीच पद बाँडफाँड र सांगठनिक संरचनामा मतभेद बाँकी रहेको छ।
समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भने अहिलेको नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको भन्दै असहमति जनाएका छन्। तर, दुवै दलका बहुमत पदाधिकारीहरू भने छिट्टै पार्टी एकता घोषणा गर्ने तयारीमा छन्।
