• Tuesday 20th of October 2026

हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको सन् २०२३ मै हत्या भएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २८ । हमासद्वारा मारिएका भनिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।इजरायलस्थित नेपाली दूतावास स्रोतका अनुसार, इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टले विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखाएको छ।

स्रोतले भन्यो, “हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ। उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको रिपोर्ट प्राप्त भएको छ।”

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई हस्तान्तरण गरेपछि सैनिक अस्पतालमा राखी डीएनए परीक्षण गरिएको थियो।विपिन जोशी सन् २०२३ को अक्टोबरमा हमास आक्रमणको क्रममा हराएका नौ जना नेपाली विद्यार्थीमध्ये एक थिए। लामो खोजीपछि उनको जीवित अवस्था अज्ञात रहँदा उनको परिवार र सम्पूर्ण नेपालले उद्धारको आशा पालेको थियो।

अब डीएनए रिपोर्ट सार्वजनिक भएपछि विपिनको मृत्युबारे औपचारिक रूपमा पुष्टि भएको र त्यसका आधारमा शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।नेपाल सरकारले विपिनको मृत्युपछि उनको परिवारलाई आवश्यक कानुनी तथा मानवीय सहयोग उपलब्ध गराउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖