• Tuesday 20th of October 2026

कहिलेकाहीँ चक्कर आउने समस्या छ: देउवा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक भए।

भदौ २४ गते निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण र घरमा आगजनी भएको थियो।

सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि पनि प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए।

सभापति देउवाले आफू र परिवारका सदस्यको ज्यान लिने हिसाबले आक्रमण गरिएको बताए। आफूहरूलाई घन्टौंपछि उद्धार गरिएको बताउँदै उनले उद्धार गर्नेहरूलाई धन्यवाद पनि दिए।

त्यसयता सभापति देउवा उपचारमा थिए र स्वास्थ्य लाभ गरिरहेका थिए।
सभापति देउवा यसबीचमा भएका केन्द्रीय कार्यसम्पादन र पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उपस्थित भएनन्।

उपसभापति पूर्णबहादुर खड्काले नै ती बैठक अध्यक्षता गरेका थिए।
तर आज केन्द्रीय कार्यसमिति बैठक सुरू गर्न र आफ्ना कुरा राख्न सभापति देउवा केन्द्रीय कार्यालय सानेपामा आएका थिए।

पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवासहित आएका सभापति देउवाले सुरूमा लिखित मन्तव्य लिए। त्यसपछि दुई विषयमा मौखिक रूपमा धारणा राखे।

पहिलो- घरमा जलेको अवस्थामा भेटिएको भन्ने भिडिओसम्बन्धी थियो। सभापति देउवाले उक्त भिडिओ एआईको प्रयोग गरी बनाइएको र आफ्नो खिलापमा विदेशका भिडिओहरू काटेर ती भिडिओ सामाजिक सञ्जालमा राखिएको दाबी गरे। साथै उनले यस विषयमा छानबिन गर्न माग गरेका छन्। देउवा निवासमा नोट अर्ध जलेको अवस्थामा फेला परेको भिडिओ तथा समाचारहरू आएका थिए।

सभापति देउवाले जानकारी दिएको अर्को विषय भने आफ्नो स्वास्थ्य अवस्थाबारेको थियो।

उनी केन्द्रीय समिति बैठक कक्ष प्रवेश गर्दै गर्दा पत्रकारहरूले स्वास्थ्य अवस्थाबारे सोधेका थिए। त्यसबेला देउवाले ठिकै छ भन्ने संकेत मात्रै गरेका थिए। तर सम्बोधनको अन्तिममा उनले आफूलाई अझै समस्या रहेको बताए।

‘कहिलेकाहीँ चक्कर (रिँगाटा चल्ने) समस्या छ,’ उनले भने, ‘धेरैबेरसम्म एकै ठाउँमा बोल्न र बस्न सक्दिनँ।’

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर केन्द्रीय समितिबाट निस्किएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖