सभामुख देवराज घिमिरेले संसद पुनःस्थापनाका लागि बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहभागी नहुने घोषणा गर्दै बहिष्कार गरेको छ।
सभामुख घिमिरेले जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना गर्नका लागि शीर्ष १० दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए। तर रास्वपाले भने स्पष्ट रूपमा उक्त बैठक बहिष्कार गरेको हो।
रास्वपाको भनाइमा, संसद पुनःस्थापनाभन्दा नयाँ निर्वाचन नै देशको लागि सही बाटो हो। पार्टीका नेताहरूले भनेका छन्, “पुरानो संसद पुनःस्थापना गरेर समस्या समाधान हुँदैन, जनताले फेरि मत दिएर नयाँ जनादेश दिनुपर्छ।”
उता सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापनाको पक्षमा खुलेका छन्।
मुख्य दलहरू पनि यसबारे फरक धारणा राख्दै आएका छन्। नेकपा (एमाले) ले पदाधिकारी बैठकबाट विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस ले केन्द्रीय समिति बैठकमा यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
राजनीतिक रूपमा देश पुनः एक संवैधानिक बहसको मोडमा पुगेको छ। अब प्रश्न यही हो — देश पुनःनिर्वाचनतिर जाने हो कि पुनःस्थापनाको बाटो रोज्ने?
