• Tuesday 20th of October 2026

देउवा दम्पतीलाई विदेश जान नरोक्ने सरकारी संकेत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश जान खोजे उनलाई नरोक्ने संकेत देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको घरमा ठूलोमा मात्रामा रकम जलेको अवस्थामा भेटिएकोबारेमा अनुसन्धान गर्ने भन्दै यसअघि सरकारले देउवा दम्पत्तिलाई विदेश जान रोक्ने तयारी अघि बढाएको थियो । सोही अनुसार सरकारी संयन्त्रले गृहकार्य गरेका थिए ।

तर, सरकारको त्यो तयारीमा अहिले ब्रेक लागेको छ । देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण नदेखिएको अनुसन्धान गर्ने संयन्त्रको राय दिएका कारण उनको विदेश यात्रामा प्रतिबन्ध लगाईहाल्ने अवस्था नरहेको एक मन्त्रीले बताए ।

‘राज्यका संयन्त्रहरुले प्रतिबन्ध लगाउनुपर्ने भन्दै अहिलेसम्म कुनै परिपत्र गरेका छैनन् । अन्य विविध कारण केलाउँदा पनि अहिले नै रोक्ने उचित कारण देखाउन समस्या छ’ ती मन्त्रीले भने ।

देउवा आन्दोलन दमनमा प्रत्यक्ष सहभागी नभएको हुँदा उनलाई राजनीतिक अभियोगमा रोक्न सक्ने आधार देखिदैन् । साथै सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागले पनि उनको निवासमा भेटिएका सबुत प्रमाण उनलाई बिदेश यात्रामा प्रतिबन्ध लगाउनेगरी पर्याप्त नभएको राय दिएको एक मन्त्रीले जानकारी दिए ।

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख (हाल अवकाश) हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको थियो ।

२३ र २४ भदौको घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले उनीहरुलाई उपत्यका बाहिर जानु परेपनि प्रशासनको अनुमति लिनुपर्ने र विदेश यात्रा रोक्नु पर्ने भन्दै १२ भदौमा सरकारलाई सिफारिस गरेको थियो । त्यसपछि उनीहरुलाई विदेश जान रोक लगाइएको छ ।

तर, देउवाको हकमा भने अहिलेसम्म कुनै पनि संयन्त्रले सरकारलाई यस्तो सिफारिस गरेका छैनन् । जसकारण देउवाको हकमा भने उनी उपचार वा परिवार भेट्न जान खोज्दा रोक्ने उचित कारण नभेटिने सरकारी अधिकारीहरुको भनाइ छ ।

जेन–जी आन्दोलन हुँदा कुनै कार्यकारी पद तथा सरकारमा उनी नरहेका, उमेर र स्वास्थ्य जस्ता विषयलाई आधार मान्दै देउवा दम्पतीलाई विदेश जान रोक्न नसकिने बुझाइ छ ।

ओली, लेखकसहित पाँच जनालाई विदेश जान रोक्नेबारे अध्यागमनलाई समेत जानकारी गराइए पनि देउवा दम्पतीको हकमा भने यात्रा रोक्नेबारे कुनै जानकारी नआएको अध्यागमन स्रोत बताउँछ ।

‘देउवा दम्पतीको हकमा विदेश यात्रा रोक्नेबारे कुनै जानकारी हामी कहाँ अहिलेसम्म आएको छैन’ अध्यागमन स्रोतले भन्यो ।

जनदबाबलाई ख्याल गर्दै देउवा परिवारलाई केही समय रोक्न सके राम्रो हुने भन्दै गृहमन्त्रीले जोड गरेको भए पनि अन्य निकायले पर्याप्त आधार नदेखिएको बताएपछि अहिलेलाई मातहतका निकायलाई ‘कानुन बमोजिम गर्नु’ भनिएको छ ।

देउवा सम्पत्ति यसअघि पनि उपचारका लागि पटक–पटक विदेश जाने–आउने गर्दै आएका छन् । अहिले पनि उनीहरु उपचारकै लागि भनेर विदेश जाने तयारी रहेको बताइएको छ । स्वास्थ्य उपचारको मामलामा हिरासतमा रहेका व्यक्तिलाई समेत यसअघि छाडिएको थियो ।

१५ चैतमा तीनकुनेमा भएका राजावादी आन्दोलनको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा म्याद थप भएर हिरासत हुँदा समेत उपचारका लागि भन्दै छाडिएको थियो । त्यसपछि उनी भारत पुगेर उपचार गराएका थिए ।

जेनजी आन्दोलनको क्रममा देउवा दम्पती माथि पनि आक्रमण भएको थियो । आन्दोलनकारीहरुले उनीमाथि कुटपिट गरेको भिडिओ समेत सार्वजनिक भएको थियो । उनीहरु रक्ताम्य अवस्थामा थिए । त्यसपछि नेपाली सेनाले उद्दार गरेर उनीहरुलाई उपचार गराएको थियो ।

जेनजी आन्दोलनको क्रममा बुढानिलकण्ठस्थित आफ्नो घर जलेपछि देउवा दम्पतीका पासपोर्टहरु पनि जलेका थिए ।

त्यसपछि उनीहरुले ३ असोजमा राहदानी बनाएका थिए । सरकारी बिदाकै दिन पासपोर्ट बनाएकाले उनीहरु तत्कालै विदेश जान लागेको भन्दै टिकाटिप्पणी गरिएको थियो । तर अहिलेसम्म उनीहरु विदेश गएका छैनन् । घटनाको ३४ दिनपछि उनीहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖