नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश जान खोजे उनीमाथि प्रतिबन्ध नलगाउने संकेत देखिएको छ। जेनजी आन्दोलनका क्रममा देउवाको बूढानिलकण्ठस्थित घरमा जलेको अवस्थामा ठूलो रकम भेटिएको विषयमा अनुसन्धान भइरहेको भए पनि, सम्बन्धित निकायहरूले अहिलेसम्म विदेश यात्रा रोक्ने पर्याप्त प्रमाण नपाएको निष्कर्ष दिएका छन्।
सरकारी संयन्त्रले देउवालाई हालै विदेश जान रोक्नुपर्ने कारण नभएको भन्दै प्रतिबन्धको तयारी स्थगित गरेको हो। गृहमन्त्रीले जनदबाबका कारण केही समय रोक्न सुझाव दिए पनि अन्य निकायहरूले कानुनी आधार नदेखाएपछि “कानुन बमोजिम गर्नु” भनिएको छ।
देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण विभागले भने अनुसन्धान जारी राखेको छ। विभागले जलेको घरमा भेटिएका जलेका नोटका टुक्राहरू मुचुल्का गरेर अनुसन्धान अघि बढाइरहेको छ, तर यकिन प्रमाण पत्ता लगाउन कठिन भएको बताइएको छ। यता, सीआईबीले देउवाका आफन्तहरूको घरमा समेत छापा मारे पनि ठूला प्रमाण फेला नपरेको जनाएको छ।
