नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यहरूलाई जवाफ दिँदै आफूले ५५ वर्षदेखि सानो टुक्रो आन्दोलन बोकेर ल्याएको बताउँदै जिम्मेवारी पूरा नगरी पद नछोड्ने बताएका छन्।
शुक्रबार भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने, “मेरो काँधमा अझै जिम्मेवारी बाँकी छ, त्यो पूरा नगरी जान्न। राजीनामाबारे छलफल महाधिवेशनमै गरौं।”
ओलीले पार्टीभित्र तिक्तता नफैलाउन आग्रह गर्दै एकताको सन्देश दिएका छन्। “मित्रतासाथ अघि बढौं,” उनले भने।
त्यस क्रममा उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिबारे पनि असहमति जनाउँदै “पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले नै अस्वीकार गर्नुपर्थ्यो” भनेका छन्।
ओलीले अहिलेको सरकारले आफूलाई पक्राउ गर्न खोजिरहेको आरोप समेत लगाएका छन्। उनका अनुसार गृहमन्त्रीले आफूविरुद्ध उजुरी हाल्न आदेश दिएको र पक्राउ गर्ने योजनासम्म भएको छ।
‘ओलीलाई जसरी पनि थुन्नुपर्छ भन्ने प्रयास हुँदैछ,’ उनले दाबी गरे।
त्यस्तै उनले जेन–जी आन्दोलन दल र संविधानविरुद्ध नभएको पनि बताएका छन्। “उनीहरू भन्छन्, हामी दलविरुद्ध होइनौं, संविधानविरुद्ध होइनौं,” ओलीको भनाइ छ।
पार्टीभित्र भाषाशैली नरम पार्न सुझाव दिने नेताहरूलाई ओलीले हल्का हाँस्यात्मक जवाफ पनि दिए, “अब के, भाषामा चिनी थपिदिनु?”
