• Tuesday 20th of October 2026

म केपी ओलीसंग चुनाव लड्न तयार छु : माओवादी नेता रन्जित तामांग


  • धनकुटा खबर
  • .

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङले आफू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उभिन तयार भएको बताएका छन्। उनले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने योजना बनाइरहेको बताएका छन्, यो क्षेत्र ओलीको परम्परागत निर्वाचन क्षेत्र हो।

किरण पौडेलसँगको अन्तर्वार्तामा तामाङले भने, “म आगामी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नेछु। मेरो जन्मथलो झापा–५ हो, र त्यहींबाट लड्ने तयारीमा छु। आवश्यकता परे काठमाडौंबाट पनि लड्न तयार छु।”

तामाङले हालको राजनीतिक अवस्थालाई पुराना नेताहरूको असफलतासँग जोड्दै नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार, “जेनजी आन्दोलनले दलहरूलाई चेतावनी दिएको छ, अब युवाहरूले नै जिम्मेवारी लिनुपर्ने बेला आएको छ।”

उनले माओवादी केन्द्र विशेष महाधिवेशनको तयारीमा रहेको र यसले नयाँ नेतृत्वको बाटो खोल्ने बताए। “विशेष महाधिवेशनले नयाँ म्यान्डेट दिन्छ, जसअनुसार पार्टी अघि बढ्नेछ,” उनले भने।

जेनजी आन्दोलनबारे बोल्दै तामाङले आन्दोलन शान्तिपूर्ण भएको तर राज्यको दमनले आक्रोश बढाएको बताए। उनले आरोप लगाए, “भदौ २३ गते तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए २४ गतेको हिंसात्मक घटना हुने थिएन।”

अन्तर्वार्ताको अन्त्यमा तामाङले स्पष्ट भने, “हामी चुनावमा जान तयार छौं, अरू दलले पनि राष्ट्रियता र जनभावनाको संरक्षणका लागि चुनावी तयारी गर्नुपर्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖