ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं केन्द्रीय कमिटी बैठकमा पुनः नेतृत्व दोहोर्याउने संकेत दिएका छन्। तर उनको यो अडानले पार्टीभित्र असन्तुष्टि र आलोचना बढाएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरूले ओलीको राजनीतिक प्रस्तावविरुद्ध कडा असहमति जनाएका थिए। धेरै केन्द्रीय सदस्यहरूले नयाँ नेतृत्वको माग गर्दै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर ओलीले संख्यात्मक बलका आधारमा आफ्नै प्रस्ताव पारित गराएका छन्।
पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाएको आरोप उनीमाथि पुनः उठेको छ। ओलीले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान विधानमा नसमेटी आफूका लागि सहज बनाएको आलोचना भएको छ।
नेताहरूको भनाइमा, ओलीको नेतृत्वमा वाम गठबन्धन जोगाउन नसक्नु, नेकपा एकता टुट्नु र प्रधानमन्त्री हुँदा संसदमा कुनै पनि ठोस विधेयक पारित गर्न नसक्नु उनको असफलता हो। उनी सत्तामुखी र गुटवादी प्रवृत्तिका नेता भएको आरोप पनि पार्टीभित्रैबाट उठेको छ।
अध्यक्ष ओलीले बैठकमा “काँधमा जिम्मेवारी बाँकी छ, पूरा नगरी अध्यक्ष छोड्दिनँ” भन्दै पुनः नेतृत्व दोहोर्याउने संकेत दिएका छन्। तर असन्तुष्ट पक्षका नेताहरूका अनुसार, उनको यो अडानले पार्टीमा आन्तरिक विभाजन अझ गहिरिने खतरा बढेको छ।
