• Tuesday 20th of October 2026

जेलबाट भागेका कैदी र विध्वंसको जिम्मेवारी रवि र रास्वपाले लिनुपर्छ: पूर्व महासेनानी खड्का


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक १ । नेपाली सेनाका पूर्व महासेनानी माधवसुन्दर खड्काले जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगजनी लगायत विध्वंसको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त पार्टीका सभापति रवि लामिछानेले लिनुपर्ने बताएका छन् ।

जेन-जी आन्दोलनको फाइदा उठाएर लामिछाने भदौ २४ गते ललितपुरको नक्खु कारागारबाट निस्केसँगै देशभरका जेलबाट भागेका जघन्य अपराधमा संलग्न कैदी र लुटिएका हतियारको जिम्मेवारीसमेत रास्वपा र लामिछानेले लिनुपर्ने उनले बताए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कारागारले सुरक्षा दिन नसक्ने भन्दै आफूलाई पत्र थमाएपछि बाहिर आएको लामिछानेको प्रतिक्रियापछि देशभरका जेल तथा कारागारबाट भागेका कैदी बन्दीले बढाएको सुरक्षा खतराका कारण फागुनमा तोकिएको निर्वाचन संभव नरहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘जेन-जी आन्दोलनका क्रममा जेल फोड्न, देशभरका जेलबाट कैदीकैदीबन्दी भगाउन रास्वपा पूर्ण जिम्मेवार रहेको छ । नख्खु कारागारमा रहेका रवि लामिछानेलाई जेलबाट निकाल्न रास्वपाका केन्द्रिय तहका नेताहरु त्यहाँ पुगेर जेल फोड्न आह्वान गरेका छन् । रास्वपाले जेलबाट रविलाई बाहिर निकालेपछि त्यसैको मनोबलले देशभरका जेलबाट कैदी भागेका छन् । त्यसको जिम्मेवारी रवि र रास्वपाले लिनुपर्छ । रवि लामिछानेसँगै जेलबाट निस्केका कैदीले अदालतका कागजपत्र जलाएका छन् त्यसको छानविन हुनुपर्छ।’

जेलबाट भागेका कैदीबन्दी र लुटिएका अत्याधुतिक हतियारबाट समाजमा त्रासको वातावरण सिर्जना भएको त्यसले सुरक्षा चुनौतीसमेत बढाएकाले फागुनको निर्वाचन प्रभावित हुने उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖