• Tuesday 20th of October 2026

७७ करोड बक्यौता नतिरेपछि शिवम् सिमेन्टको विद्युत् लाइन काटियो


  • धनकुटा खबर
  • .

हेटौंडा । नेपाल विद्युत् प्राधिकरणले ७७ करोड रुपैयाँभन्दा बढी महसुल नतिरेको भन्दै हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन काटिदिएको छ। प्राधिकरणका अनुसार उद्योगले लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरेबापतको प्रिमियम महसुल नबुझाएको कारण लाइन काटिएको हो।

हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवका अनुसार शिवम् सिमेन्टले कुल ७७ करोड ८८ लाख रुपैयाँ बुझाउन बाँकी राखेको छ। “उद्योगले पटक–पटक पत्राचार गरे पनि बक्यौता नतिरेकाले आज बिहान लाइन काटिएको हो,” यादवले जानकारी दिए।

यसअघि मङ्गलबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सका लाइन पनि काटेको थियो। ती उद्योगहरूले क्रमशः १ अर्ब ६० करोड, ७५ करोड ३७ लाख, ५० करोड ८५ लाख, ४४ करोड ८४ लाख र ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यी सबै बक्यौता सन् २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको अतिरिक्त महसुल हो। कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदाका दिन पनि बक्यौता तिर्न सक्ने व्यवस्था मिलाइएको छ। उनले समयमै रकम बुझाउने उद्योगका लाइन तुरुन्तै जडान गरिने बताए।

प्राधिकरणले ठूला औद्योगिक उपभोक्ताबाट लामो समयदेखि बाँकी रहेका महसुल उठाउन देशव्यापी अभियान सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖