कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
महाकालीको भुजेलाघाटमा भएको अन्त्येष्टि कार्यक्रममा सशस्त्र प्रहरीले विपिनको सम्मानमा सलामी अर्पण गरेको थियो।
विपिनको शव सोमबार इजरायलबाट काठमाडौं ल्याइएको थियो, त्यसपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै भीमदत्त नगरपालिका–३ भाषीस्थित उनको घर पुर्याइएको थियो।
दुई वर्षअघि अध्ययनका लागि इजरायल पुगेका विपिन हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए। हालै इजरायल–हमास युद्धबिरामपछि भएको फरेन्सिक परीक्षणले विपिनको सन् २०२३ मै गोली लागेर मृत्यु भएको पुष्टि गरेको हो।
तिहारको बेला विपिनको शव घर आइपुग्दा वातावरण शोकमग्न बनेको थियो। बहिनी पुष्पा जोशी यसपालिको भाइटीका दाजुसँगै मनाउने आशामा थिइन्, तर लक्ष्मीपूजाकै दिन दाजुको शव घर आइपुग्दा सारा परिवार शोकमा डुब्यो।
