• Tuesday 20th of October 2026

प्रधानमन्त्रीले संवादका लागि बोलाइनन् विघटित संसद्‌मा प्रतिनिधित्व गर्ने ३ पार्टीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गर्दैछिन् ।

कार्कीको सचिवालयले राजनीतिक दलहरूसँग निर्वाचनबारे हुने संवादमा राष्ट्रिय मान्यताप्राप्त दलका अतिरिक्त निवर्तमान संसद्‌मा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको जनाएको छ ।

सचिवालयले पठाएको नामावलीमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये १० दलका नेताका नाम मात्रै देखिन्छ ।

कार्कीको सचिवालयले पठाएका नेताका नाममा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका प्रतिनिधिको नाम छैन ।

सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुँदैछन् । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली जाँदैछन् ।

प्रधानमन्त्रीसँग संवाद गर्न १० दलका यी नेता जाँदैछन् बालुवाटार
प्रधानमन्त्रीसँग संवाद गर्न १० दलका यी नेता जाँदैछन् बालुवाटार
प्रधानमन्त्रीको सचिवालयले नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुने छन् । त्यस्तै जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुनेछन् ।

एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालालाई छलफलमा बाेलाइएकाे छ ।

विघटित प्रतिनिधिसभामा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको ७, जनमोर्चा र आम जनता पार्टीको एक/एक सिट थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖