काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आफ्नो घर जलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकका व्यक्ति संलग्न भएको खुलासा गरेका छन्।
कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भने, आन्दोलन स्वतःस्फूर्त भए पनि राजनीतिक दलका कार्यकर्ता र आपराधिक तत्वले घुसपैठ गरेर हिंसात्मक बनाएको हो। आफ्नो घरमा भएको आक्रमण नियोजित रहेको उनले बताए।
थापाले आन्दोलनमा दुई प्रकारका समूह भएको बताए – एक, वास्तविक रूपमा आक्रोशित र परिवर्तन चाहने युवा, र दोस्रो, हिंसा भड्काउने आपराधिक तत्व। आक्रमणमा काभ्रेका एक व्यक्ति पनि रहेका थिए, जो हालै बलात्कारको मुद्दाबाट छुटेका थिए।
थापाले वास्तविक आन्दोलनकारी र घुसपैठ गर्ने तत्व छुट्याएर हेर्नुपर्नेमा जोड दिँदै, नेतृत्व गरिरहेका युवाहरूले यस्ता घुसपैठ गर्नेहरूलाई कारबाहीको माग गर्नुपर्ने बताए।
