काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष र पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउविरुद्ध उनकी छोरी कुश्मा महरा ‘प्रगति’ ले भाइटिकाको दिन भावुक खुला पत्र सार्वजनिक गरेकी छिन्।
फेसबुकमार्फत लेखेको पत्रमा उनले बुबामाथिको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न माग गरेकी छन्।
‘बुबा सत्य, इमान र निष्ठाको मानक हुन्, तर सुशासनको नाममा चलाइएका शक्तिले न्यायलयलाई नै निष्प्रभावी बनाएका छन्,’ उनले लेखेकी छन्।
खुला पत्रमा उनले एमसिसी परियोजनाको विरोध र स्वाधीनताको पक्षमा उभिएको कारण बुबालाई निशाना बनाइएको दाबी गरेकी छन्। साथै उनले भुटानी शरणार्थी, ललिता निवास, वाइडबडी, एनसेल र सहकारीजस्ता ठूला घोटालाहरूमा संलग्नहरूलाई छाडेर इमानदार नेतामाथि बारम्बार मुद्दा लगाउनु अन्याय भएको बताइन्।
पार्टी नेतृत्वप्रति पनि असन्तुष्टि जनाउँदै उनले लेखेकी छन्, “क्रान्तिकारीकै पार्टीमा इमानदार किन असुरक्षित छन्?”
पत्रको अन्त्यमा उनले लेखेकी छन्, “यो दीपावलीले अन्यायमा परेकालाई न्याय र इमानदारलाई सम्मान दिलाओस्, सत्य र निष्ठाको शिर कहिल्यै नझुकून्।”
कुश्मा महरा हाल नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी सदस्य सचिव छन्।
