• Monday 19th of October 2026

सुदन गुरुङ भन्छन्– “सिंहदरबार बाहिरबाट चम्किलो, भित्रबाट यति कुरुप कि हरेक ठाउँमा पैसाको गन्ध मात्र”


  • धनकुटा खबर
  • .

जेन–जी युनाइटेडको अगुवाइमा बिहीबार माइतीघर मण्डलामा आयोजित शहीद श्रद्धाञ्जली कार्यक्रममा हामी नेपालका अध्यक्ष सुदन गुरुङ ले भावनात्मक र तीखो सम्बोधन गरे। उनले शहीदहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै देशको राजनीतिक चरित्र र सत्ता केन्द्रको भ्रष्ट स्वरूपमाथि कडा प्रहार गरे।

गुरुङले भने, “सिंहदरबार यति कुरुप रहेछ कि जहाँ हेर्यो त्यहाँ पैसाको कुरा मात्रै हुँदो रहेछ। देश, जनताको आवाज, शहीदहरूको सपना यी सबै कुरा पैसाको भड्काउमा हराइरहेका छन्।”

उनले आफ्नो नागरिकता विवाददेखि जेन–जी आन्दोलन हाइज्याक गरिएको आरोपसम्मका विषयमा स्पष्टिकरण पनि दिए। उनले पुराना पार्टीहरू जनआन्दोलनको ऊर्जालाई कमजोर पार्न खोजिरहेको र युवाहरूलाई विभाजनमा पार्ने षड्यन्त्र चलाइरहेको आरोप लगाए।

गुरुङले देशको आन्तरिक समस्यालाई बाह्य स्वार्थसँग जोड्ने प्रवृत्तिको पनि विरोध गरे। उनले भने, “घरको झगडा घरमै राखौँ, छिमेकीको आँगनमा गएर ढ्याङ्ग्रो ठोक्ने काम नगरौँ। संविधान हाम्रो हो, यसलाई बाहिरको प्रभावबाट जोगाउनुपर्छ।”

उनको भनाइ अनुसार नेपालको संविधानमा भारतको स्वार्थ हावी हुने डरका कारण संवैधानिक स्थायित्वको लडाइँ अझै जारी छ।

हालैका घटनाहरू सन्दर्भ गर्दै गुरुङले जनआन्दोलनका क्रममा भएको क्षतिलाई पुनर्मूल्यांकन गर्नुपर्ने पनि बताए। उनले भने, “सिंहदरबार त फेरि बनाउन सकिन्छ, तर एकचोटि रित्तिएको आमाको कोख भरिदिने शक्ति कसैसँग छैन।”

उनले जेन–जी आन्दोलनभित्र देखिएको बेमेल र अन्तरविरोधमाथि पनि टिप्पणी गर्दै युवाहरूलाई एकताबद्ध हुन आग्रह गरे, “अहिले डु अर डाइको अवस्था हो, अब लडाइँ आपसमा होइन, मुलुकको इमान र न्यायका लागि हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖