सरकारले आगामी निर्वाचनको वातावरण सुरक्षित राख्न र अस्थिरता रोक्न धर्ना, जुलुस तथा विरोध प्रदर्शन नगर्न सार्वजनिक अनुरोध गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, “देशमा शान्ति सुरक्षा कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्त्वपूर्ण छ। यस्ता कार्यक्रममा स्वार्थी समूहले घुसपैठ गरी अशान्ति र अराजकता निम्त्याउन सक्ने हुँदा आयोजकहरूले सचेत हुनुपर्छ।”
सरकारले जनताको जायज माग, चासो र सरोकारको सम्बोधन गर्न सधैं तत्पर रहेको बताउँदै, वार्ता र संवादमार्फतै कुनैपनि मागको विधिसम्मत समाधान खोज्न आग्रह गरेको छ। मन्त्रालयले निर्वाचन केन्द्रित वातावरण कायम राख्न कानुन, स्रोत र साधनको व्यवस्थित प्रयोग भइरहेको जानकारी दिएको छ।
सरकारको यो चेतावनी आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउने प्रयासको हिस्सा मानिएको छ।
