ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासजस्ता तीन ठूला मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले ठेकेदारहरूको ढिलासुस्ती र काम नगर्ने प्रवृत्तिविरुद्ध कठोर कदम चाल्दै आएका छन्।
यही क्रममा उनले आइतबार सहरी विकास मन्त्रालयअन्तर्गतका ६ रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्, जसमा आफैंको पक्षमा बोलेर मन्त्री पद गुमाएका पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीको ठेक्का पनि समावेश छ।
स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन बृज डिभिजनले आइतबार ‘ठेक्का किन नतोड्ने सम्बन्धी अत्यन्त जरुरी सूचना’ जारी गर्दै कान्छाराम कन्स्ट्रक्सनसहितका ठेकेदारहरूलाई १५ दिनको समयसीमा दिएको छ। झापास्थित कमल खोला दोभान पुल निर्माणका लागि २०७८ असार १० मा सम्झौता गरिएको ठेक्का हालसम्म काम नबढाएको भन्दै प्रक्रिया अघि बढाइएको हो।
यसअघि पनि २०८१ माघमा कार्य सम्पन्न गर्न १५ दिने सूचना जारी गरिएपनि, ठेकेदारले कुनै चासो नदेखाएको भन्दै विभागले अन्तिम चेतावनी दिएको हो। ठेक्का तोड्न नपर्ने कुनै कारण भए प्रमाणसहित १५ दिनभित्र काम सुरु गर्न र निर्माणस्थलका तस्बिरसहित रिपोर्ट पेस गर्न भनिएको छ।
कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास तीनै क्षेत्रमा काम नगर्ने ठेकेदारविरुद्ध शून्य सहनशीलता नीति अपनाइरहेका छन्। उनका नजिकका एक अधिकारीका अनुसार, “अब ठेक्का लिने तर काम नगर्नेहरूको नाम मात्र होइन, ठेक्का नै जफत गरेर कानूनी प्रक्रिया अघि बढाइनेछ।”
यसअघि पनि उनले जलस्रोत र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका दर्जनौं रुग्ण ठेक्का तोडेका थिए। अब सहरी विकासका परियोजनामा पनि सो अभियान विस्तार भएपछि, पुराना ठेकेदारहरूमा त्रास फैलिएको बताइन्छ।
