काठमाडौं — नेतृत्व परिवर्तनमा असहमति बढेपछि ‘आयातित नेतृत्व चाहिन्न’ भन्दै सहमतिको वातावरण भाँडिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः बालेन शाह र कुलमान घिसिङ समूहसँग सहकार्यका लागि खुला भएको छ।
आइतबारको पार्टी सचिवालय बैठकपछि सहमहामन्त्री गणेश पराजुलीले बालेन शाह, गोपी हमाल, कुलमान घिसिङ र जेन-जी पुस्ताबाट उदाएका नयाँ शक्तिहरूसँग संवाद र सहकार्यका लागि रास्वपाले ‘ढोका खुला गरेको’ घोषणा गरे।
यसअघि असोज पहिलो सातामा पुकार बम नेतृत्वको समितिले बालेनको समर्थनमा कुलमानलाई पार्टी सभापति बनाउने तयारी अघि बढाएको थियो। तर असोज २४ को सचिवालय बैठकमा उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको नयाँ समिति बनाएपछि सहमतिको माहोल भड्कियो।
बैठकपछि केन्द्रीय सदस्यहरू हरि ढकाल र सोविता गौतमले ‘रास्वपालाई आयातित सभापति चाहिँदैन’ भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि बालेन र कुलमान दुवै असन्तुष्ट बने। त्यसपछि कुलमानले पनि कुनै दलमा संलग्न हुनेबारे छलफल नभएको बताएका थिए।
बालेन शाहले नयाँ नेतृत्वसहित दल पुनर्गठन भए समर्थन गर्ने र साधारण सदस्य बन्न तयार रहेको सन्देश पठाएका थिए। तर रास्वपाभित्रकै असहमतिको कारण छलफल टुंगोमा पुग्न सकेन।
पुकार बम समूहले बालेन र कुलमानसँग संवाद अघि बढाइरहे पनि स्वर्णिम वाग्ले, डीपी अर्याल र दीपक बोहराजस्ता नेताहरूको असहयोगका कारण सहकार्यको वातावरण बिग्रिएको स्रोतले जनाएको छ।
हाल बालेनले काठमाडौं महानगरपालिकाको कार्यकाल पूरा नगरी कुनै दलको नेतृत्व नलिने, तर जेन-जी आन्दोलनको उपलब्धि संस्थागत गर्न विश्वसनीय दलमा सदस्य भएर समर्थन गर्न तयार रहेको संकेत दिएका छन्।
